हरेक युगमा समयको मागअनुसार एउटा लक्ष्य प्रधान हुन्छ । यसरी त्यो बेलामा नेपाल भन्ने विशाल देशको एकीकरण गर्नु नै महान् र प्रशंसनीय कार्य थियो ।
विश्वभरी जसले पनि आफ्नो भूगोल र राष्ट्रलाई सर्वोपरी मान्दछ तर सबैले यो अवसर
नपाउन सक्छन् । नेपालको सन्दर्भमा आफ्नो देश, भाषा र भेषको छुट्टै अस्तित्व र
पहिचान कायम गराई विश्वमा नेपाल र नेपाली भनेर चिनाउने अवसर दिने महान्
व्यक्तित्त्व बडामहाराजाधिराज पृथ्वीनारायण शाह (१७७९-१८३१ वैक्रमाब्द) नै हुन् ।
उनले आफ्नो शासनकालमा आफ्नो राज्य विस्तार गरेका हुन् तर त्यो आजसम्म आइपुग्दा कति
महान् कार्य साबित भयो भन्दा नेपालले अहिले पश्चिमोत्तर सीमामा भोगिरहेको सानो
सीमा समस्या हेरे पुग्छ । किनकी त्यो बेलामा उनले आफ्नो राज्य विस्तार गर्दा दीर्घकालिन
हिसाबले सोँचेको देखिन्छ । गोरखा राज्यको राजधानी विशाल नेपाल निर्माण भएपछि
काठमाण्डौ सार्नु, नेपाललाई देशको आधिकारिक नाम बनाउनु जस्ता कामले उनले दूरगामी
सोँच राखेरै आफूले निर्माण गर्दै गरेको राज्य विशाल हुने र त्यसको राजधानीदेखि
लिएर राज्यका हरेक संरचनाहरू स्थायी हुनुपर्ने भन्ने कुरालाई व्यवस्थित ढङ्गले
अगाडि बढाएको देखिन्छ । एक ईञ्च भूभागका लागि ठूला-ठूला युद्ध गर्न पनि पछि नपर्ने
आजको विश्वमा त्यो बेलाका हातहतियार र साधनस्रोतको बलमा नेपालको भूभाग पश्चिममा
किल्ला काँगडा र पूर्वमा टिष्टा नदिसम्म पुग्नु भनेको उनको सुझबुझपूर्ण राजनीतिक र
कूटनीतिक क्षमताकै परिणाम हो । हरेक युगमा समयको मागअनुसार एउटा लक्ष्य प्रधान
हुन्छ । यसरी त्यो बेलामा नेपाल भन्ने विशाल देशको एकीकरण गर्नु नै महान् र
प्रशंसनीय कार्य थियो । त्यसबाहेक अरु हिसाबले आग्रह र पूर्वाग्रह राखेर
पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्ने कार्य कदापि उचित हुन सक्दैन ।
एकाध मानिसले पृथ्वीनारायण शाहलाई शाहवंशीय शासन चलाउने अधिनायकवादी तानाशाह,
क्रूर र अत्याचारी राजा पनि भन्ने गर्दछन् । तर त्यसो भन्दै गर्दा उनले एकीकरण
गरेको भूमि अहिले हामीसँग कति छ ? भएको भूमिको उचित सदुपयोग कति भएको छ ? नेपालको
वर्तमान वैश्विक अवस्था कस्तो छ ? अब नेपालमा हामीले कतैबाट नयाँ भूभाग समेट्ने
कुरा त परै जाओस् केही गुमेका भूभाग फिर्ता गर्न सक्ने कत्तिको हैसियत छ ? इत्यादि
विषयहरूमा अन्तर्मनदेखि नै विचार गर्यौँ भने सायद पृथ्वीनारायण शाहप्रतिको आक्रोश
एउटा फगत अल्पज्ञान, अदूरदर्शीता, अविवेकीपन, मूर्ख्याईँ, बेइमानी, धोका र ऐतिहासिक
गद्दारी बाहेक अरु केही हुन सक्दैन । यसरी नेपालको पुनर्जागरणको उद्गम नायकका
रूपमा पृथ्वीनारायण शाहलाई लिन सकिन्छ ।
नेपाल राष्ट्रको महिमालाई विभिन्न प्राचीन ग्रन्थका साथै विभिन्न विद्वान्
आदिले पनि उजागर गरेका छन् । वैदिक कालदेखि अझ कतिसम्म भने सृष्टिका प्रारम्भदेखि
नै नेपालको अस्तित्व रहेको प्रमाणित हुन्छ । श्री स्कन्दपुराणको हिमवत्खण्डमा
भनिएको छ –
कृते सत्यवती ज्ञेया त्रेतायां च तपोवती ।
द्वापरे मुक्तिसोपाना कलौ नैपालिकापुरी ॥
नेनाम्ना मुनिना यस्मात् पालितं पुण्यकर्मणा ।
क्षेत्रं हिमवत् कुक्षौ ततो नेपालसंज्ञकम् ॥
अर्थात् नेपाल देश सत्ययुगमा सत्यवती, त्रेतामा तपोवती, द्वापरमा मुक्तिसोपान
र कलिमा नेपाल नामले प्रसिद्ध छिन् भनिएको छ । यो मुलुकको जग 'ने' नाम गरेका ऋषिले
बसालेका तथा उनैबाट पालित-पोषित भएको हिमवत् क्षेत्र हो भनिएको छ । 'नयेन पाल्यते
इति नयपाल' अर्थात् न्यायपूर्वक धर्मको पालन गर्दै राज्य सञ्चालन हुने ठाउँ नेपाल
हो भन्ने भनाई पनि प्रचलित छ । स्कन्दपुराणको हिमवत्खण्डमा नेपाल र नेपालका
विभिन्न स्थलहरू बारे वर्णन गरिएको छ । जसको अध्ययनबाट नेपाल विश्वकै शिर रहेछ
भन्ने ज्ञात हुन्छ । तर दुःखको कुरा, भारतबाट प्रकाशित हुने स्कन्दपुराणमा अत्यन्त
सङ्कुचित मानसिकता राखेर नेपाल माहात्म्य समेटिएको हिमवत्खण्ड हटाइएको छ ।
तर दुःखको कुरा, भारतबाट प्रकाशित हुने स्कन्दपुराणमा अत्यन्त सङ्कुचित मानसिकता राखेर नेपाल माहात्म्य समेटिएको हिमवत्खण्ड हटाइएको छ ।
नेपालको प्राचीनकालदेखिकै इतिहास हेर्दा वैदिक संहिताहरू अन्तर्गत अधिकांश
मन्त्रहरूको रचना र सङ्कलन नेपालको भूमिमा भएको देखिन्छ । त्यस्तै विभिन्न
पुराणहरूमा पनि नेपाल माहात्म्य वर्णित छ । यसरी नेपाल सर्वप्राचीन भएको प्रमाणित
हुन्छ । भगवान् शिव र जगन्माता पार्वतीको क्रीडास्थल, राजर्षि जनक र सीता (जानकी)
माताको भूमि, महर्षि याज्ञवल्क्य र अष्टावक्र, विदुषी गार्गी र वेदवादिनी ऋतम्भरा
आदिको विद्वताको थलो, महर्षि वेदव्यास, षड्दर्शनका प्रवर्तकमध्ये महर्षि जैमिनी,
बादरायण, कपिल, अक्षपाद गौतम आदिको भूमि, शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको
जन्मथलो, महर्षि पाणिनीको भूमि, त्यस्तै अन्य अधिकांश ऋषि-महर्षि र योगीहरूको तप र
साधना भूमि नेपाल हो । यहीँको गण्डकी, कौशिकी, कर्णाली र मिथिला क्षेत्र हो ।
श्रद्धेय राष्ट्रगुरु श्री योगी नरहरिनाथका अनुसार संसारकै प्रथम मानव स्वायम्भुव
मनु वर्तमान नेपालको कालिकोट जिल्लाको मान्माका थिए । जुम्लाको सिञ्जा उपत्यका नै
पहिलो मानवीय बस्ती बसेको ठाउँ मानिन्छ । नेपालकै कौशिकी तटमा महर्षि
विश्वामित्रले सबैभन्दा शक्तिशाली ब्रह्मगायत्री मन्त्रको साक्षात्कार गरेका थिए ।
नेपालको पुनर्जागरणको सन्दर्भमा कुरा गर्दा कुनै युग यस्ता थिए जहाँ नेपालले
वैश्विक नेतृत्व गर्थ्यो । वैदिक काल र धेरै पछिसम्म पनि नेपालले विश्वभरी नै ज्ञान,
तप, विद्या र शान्तिको प्रवाह गराइरह्यो । तर पछि आएर विभिन्न कालखण्डमा नेपालले आफ्नो
जागृत अवस्था कायम राख्न सकेन । परिणामस्वरूप नेपाल ज्ञान र विज्ञानको वैश्विक
प्रतिस्पर्धामा अग्रणी रहिरहन सकेन । फलस्वरूप अहिले हामी नेपालले भोगेका विभिन्न
पीडाहरूको मूकदर्शक मात्र बनिरहेका छौँ । नेपालले आफ्नो प्रतिमान बिर्सेको छ । नेपाल
निदाएको छ, स्वप्नमा छ, यहाँका हरेक मूल्यवान् वस्तु मूल्यहिन बनिरहेका छन् ।
नेपालले सुन गुमाएर नुन खानुपर्ने अवस्था विद्यमान छ । यहाँको बौद्धिक जगत्
कृत्रिमतातिर लम्किइरहेको छ, पराया सभ्यताको अनुयायी बन्दै स्वसभ्यताको ध्वंश गर्न
लागिपरेको छ ।
नेपालकै कौशिकी तटमा महर्षि विश्वामित्रले सबैभन्दा शक्तिशाली ब्रह्मगायत्री मन्त्रको साक्षात्कार गरेका थिए ।
के नेपाल अब सधैँभरी यसैगरी रहन सक्ला ? नेपालले शैक्षिक जनशक्ति उत्पादन गरि
विदेश पलायन गराइराखेको छ । विदेशीको सुरक्षार्थ विदेशी सुरक्षा निकायहरूमा भर्ति
हुने, दक्ष र अदक्ष कामदारको रूपमा विदेश गइ विदेशी भूमिमा रगत र पसिना बगाउने, आफ्नो
बौद्धिकतालाई केबल बाँच्नका लागि विदेशीलाई सुम्पिने आदि बिडम्बना नेपालले
कहिलेसम्म बेहोर्ने ? के अब नेपाल स्वकेन्द्रित नहुने ? आफ्नो पहिचान र गौरवलाई
पुनःस्थापित नगर्ने ? ज्ञान र विज्ञानको वैश्विक केन्द्र बन्नेतर्फ नलम्कने ? यस्ता
प्रश्नहरू अब प्रत्येक नेपालीका मानसपटलमा उठ्नुपर्छ । अब परनिर्भर होइन,
आत्मनिर्भर भइ बाँच्ने र बाँच्न सिकाउने मूलप्रवाहमा प्रत्येक नेपाली हिँड्नुपर्छ
। आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, वैज्ञानिक सबै तवरमा
नेपालले मौलिकतासहितको विकास गर्दै जानुपर्छ । इतिहासका सबै राम्रा पक्षलाई
समेट्दै (इतिहासलाई ध्वंश गरेर होइन), नराम्रा पक्षलाई हटाउँदै र सुधार्दै, आध्यात्मिकतासहितको
विज्ञान र प्रविधिलाई अँगाल्दै लोककल्याणकारी वैदिक समतामूलक समाजवादी राज्यव्यवस्थाको
ढाँचामा नेपाल जानुपर्छ । जहाँ वैराग्यपूर्ण ऋषिसत्ता र राजकीयसत्ताको अभ्यास
गरिएको हुन्छ । राजकीयसत्ताले गल्ति गर्ने बित्तिकै ऋषिसत्ताले हस्तक्षेप गर्छ तर
आफू स्वयं भने राजकीयसत्ता सम्हाल्दैन । सैद्धान्तिक भाषामा भन्दा स्थितिगत्यात्मक
प्रगतिवादको सिद्धान्त अर्थात् स्वस्थानमा रहेर गतिलाई पक्रने । अहिले नेपालमा
अभ्यास गरिएको व्यवस्था भने स्वस्थान छोडेर गतिलाई पक्रने रहेको छ, जसमा न स्वस्थानमा
रहन सकिन्छ न गतिलाई नै पक्रन सकिन्छ । अब नेपाली हिनताबोधका साथ होइन, गतिबोधका
साथ, पराइकेन्द्रित भएर होइन, स्वकेन्द्रित भएर, वीरता र स्वाभिमानका साथ अगाडि
बढ्नुपर्ने बेला आएको छ । यो यात्रा नै पुनर्जागरणको यात्रा हो । र यो यात्रा
आधुनिक कालखण्डमा पृथ्वीनारायण शाहले नै शुरु गरिसकेका तर बीच-बीचमा अल्मलिएको
हुनाले हामीले फेरि त्यहि बाटोमा हिँडेर गति समात्न सके मात्रै पनि महत्त्वपूर्ण
साबित हुने छ । त्यसकारण हिमवत्खण्डमा अति विशिष्ट भौगोलिक अवस्था नेपालको भएको
हुँदा समग्र हिमवत्खण्डको पुनर्जागरणका लागि नेपालले नेतृत्व गर्न सक्नुपर्छ र
त्यो विश्वलाई नै एउटा सन्देश हुनेछ ।
कार्ल मार्क्स, लेनिन, माओ र महात्मा गान्धीहरूको तस्बिर शालिकमा माल्यार्पण
गर्दै र भजन गाउँदै गर्दा जसको मिहिनेत र परिश्रमले नेपाल र नेपाली भनेर विश्वमा
गर्व गर्न पाएका छौँ त्यस्तो व्यक्तित्वलाई राष्ट्र र नेपालीले सम्मान र आदर गर्न
किन नहुने ? उनलाई मार्गदर्शक मान्न किन नहुने ? जसले यसो गर्न हुँदैन भन्छ,
त्यहीँ नै खोट देखिन्छ । आधुनिकताको नाममा क्षणिक स्वार्थप्रेरित भएर नेपाल र
नेपालीको अस्तित्व सिध्याउने कुत्सित मनसाय देखिन्छ । सबैलाई हेक्का रहोस्,
पृथ्वीनारायण शाहको सम्मान भनेको राजतन्त्रवाद, राजावाद या अन्य कुनै पनि वादसँग
सम्बन्धित होइन, यो त एउटा स्वतन्त्र नागरिकमा स्वतस्फूर्त आएको देशको पहिचान,
सभ्यता र जागरणको अभियान हो । मौलिकताको उद्गम हो, सत्कर्मको आन्दोलन हो,
राष्ट्रको स्वसभ्यतातर्फको महान् यात्रा हो ।
त्यसकारण हिमवत्खण्डमा अति विशिष्ट भौगोलिक अवस्था नेपालको भएको हुँदा समग्र हिमवत्खण्डको पुनर्जागरणका लागि नेपालले नेतृत्व गर्न सक्नुपर्छ र त्यो विश्वलाई नै एउटा सन्देश हुनेछ ।
तात्कालिन अवस्थामा नेपालको भौगोलिक र राजनीतिक रूपमा कायापलट गर्ने महान् र
सम्मानित व्यक्तित्व बडामहाराजाधिराज स्वर्गीय श्री पृथ्वीनारायण शाहको जन्मजयन्ती
तथा राष्ट्रिय एकता दिवसको अवसरमा उनले देखाएको स्वाभिमानी र वीरतापूर्ण बाटोमा
नेपाल र नेपालको नेतृत्व हिँड्न सक्ने प्रेरणा मिलोस् भन्दै उनीप्रति हार्दिक
श्रद्धाञ्जलि ! वन्दे नेपालमातरम् ! अस्तु
!