व्रत बसिसकेपछि शरीरमा एउटा छुट्टै खालको चामत्कारिक परिवर्तन आउँछ, सकारात्मक सोँचको विकास हुन्छ र आत्मबल बढ्छ ।
हिन्दू नारीहरूको पवित्र र महान् पर्व हरितालिका तीज धूमधामका साथ मनाईंदैछ । भाद्र शुक्ल द्वितीयाका दिनदेखि ४ दिनसम्म मनाइने यस पर्वले परिवारमा माया र प्रेम तथा समाजमा सद्भाव बढाउँदै गएको छ । यो पर्व पौराणिक कालदेखि नै मनाउँदै आएकाले अत्यन्तै प्राचीन मानिन्छ । हिमालय पर्वतकी पुत्रि पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा पाउँ भनि घोर तपस्या गर्नुभएको र भाद्र शुक्ल तृतीयाका दिन शिवजीलाई पतिका रूपमा पाउनुभएको दिनदेखि नै तीज पर्व मनाउन शुरु भएको पौराणिक मान्यता छ । भाद्र शुक्ल द्वितीयाका दिन दर खाने, तृतीयाका दिन व्रत बस्ने, चतुर्थीका दिन भगवान् गणेशको व्रत-पूजा गर्ने र पञ्चमीका दिन ३६५ वटा अपमार्ग (दतिवन) टोकी स्नान गरी अरुन्धतीसहित सप्तऋषि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ)को पूजा गर्ने यति कर्म सकेर तीज पर्वको समापन गरिन्छ ।
तीजको पर्वमा विशेष रूपमा विवाहिता महिलाहरूले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको लागि तथा अविवाहिता महिलाहरूले सुयोग्य वरको लागि निर्जल र निराहार व्रत बस्ने परम्परा नै प्रमुख मानिन्छ । यसरी व्रत बस्दा स्वास्थ्यको ख्याल गरेर जलाहार, फलाहार गर्न सकिन्छ । यो व्रत शरीरका पाचन क्रियालाई आराम दिएर सबल बनाउन महत्त्वपूर्ण रहेको हुन्छ । एउटा शारीरिक साधनाका रूपमा पनि व्रतहरूलाई लिनुपर्ने हुन्छ । व्रत बसिसकेपछि शरीरमा एउटा छुट्टै खालको चामत्कारिक परिवर्तन आउँछ, सकारात्मक सोँचको विकास हुन्छ र आत्मबल बढ्छ ।
सधैँभरी विवाह गरेर गएको घरमा बसिरहँदा तीज पर्वमा आफ्नो माइतीघर आएर नारीहरूले आफ्नो माता-पिता, दाजुभाई, इष्टमित्रसँग बसेर खानपिन, पूजाआजा, नाचगान र रमाइलो गरि समय बिताउने अवसर पाउनु पनि तीजको अर्को प्रमुख पक्ष हो । सधैँभरी मानिस काममा मात्रै व्यस्त रहँदा जीवनमा पुनर्ताजगी मिल्दैन । यसरी वर्षका केहि दिन मनाइने यस्ता सांस्कृतिक पर्वहरूले परिवारमा मेलमिलाप गराउने, समाजमा सद्भाव बढाउने, मानिसहरूमा एउटा नयाँ उत्साह र शक्तिको सञ्चार गराउने गर्दछ । जसले अन्ततः मानव जातिकै भलो गर्ने हुन्छ । त्यसैले यस्ता सनातन चाडपर्वहरू हर्षोल्लासका साथ उत्साहपूर्वक मनाउनुपर्दछ ।
तीज पर्वका सन्दर्भमा केहि रोचक धार्मिक प्रसङ्गहरू रहेका छन् –
- हिमालय पुत्रि पार्वतीले जति तपस्या गर्दा पनि शिवजीलाई नपाएपछि भगवान् विष्णुजीको आराधना गर्नुहुन्छ र विष्णुजी प्रकट भई शिवजीलाई पाउन सकिने व्रतको उपदेश दिनुहुन्छ । यसरी विष्णुजी अर्थात् हरिको तालिकाअनुसार पार्वतीले व्रत गर्नुभएकी हुनाले हरितालिका तीज नाम रहन गयो ।
- पार्वतीले शिवजी पति पाउनुभएपछि त्यसको खुशियालीमा साथी-सङ्गिनीहरूसँग नाचगान र रमाइलो गर्नुभयो । यसरी तीजमा नाचगान र रमाइलो गर्न थालियो ।
- भगवान् श्रीकृष्णको जन्म भएको ११ औँ दिन अर्थात् यहि भाद्र शुक्ल तृतीयाका दिन श्रीकृष्णजीको नामकरण संस्कारको खुशियालीमा गोकुलका गोपगोपिनीहरूले नाचगान गरे । यसै दिनदेखि तीजमा नाचगान गर्ने परम्पराको थालनी भयो ।
यो तीज एउटा झुपडीमा बस्ने गरिब महिलाका निमित्त पनि उत्तिकै रमाइलो बन्न सकोस् ।
तीज पर्व मनाउँदै गर्दा आधुनिक समयमा केहि विकृतिहरू पनि भित्रिदैँछ । मौलिक परम्परा र संस्कृति ओझेलमा पर्दै छन् । महिलाहरूबीच गरगहना र वस्त्र लगाउने भन्दा पनि देखाउने प्रतिस्पर्धा बढ्दै गएको छ । उत्ताउला र भड्किला गीत-सङ्गीत बन्ने क्रम बढ्दै गएको छ । दर खाने नाममा असन्तुलित खानपान खाने क्रम बढ्दै गएको छ । यसलाई रोक्नेतर्फ पनि कदम चाल्नु जरुरी देखिन्छ । यो तीज एउटा झुपडीमा बस्ने गरिब महिलाका निमित्त पनि उत्तिकै रमाइलो बन्न सकोस् ।
तीज पर्वले सम्पूर्ण महिला आमा तथा दिदीबहिनीहरूमा नयाँ उत्साह र शक्तिको सञ्चार गराओस्, महिलाको हक, अधिकार र कर्तव्यका निमित्त अझै चेतनशील र सचेत गराओस्, आफ्नो धर्मसंस्कृति, चाडपर्व र रीतिरिवाजलाई अझै परिष्कृत बनाउँदै लैजाने क्षमता पैदा गरोस्, स्वावलम्बी र सक्षम बनाओस्, परिवार र समाजमा सबै दुःख र पीडाबाट मुक्त भएर एउटा गृहलक्ष्मीको रूपमा रहेर सम्मानित र सबल जीवन बाँच्न सक्ने र पाउने वातावरणको सिर्जना होस्, सदा-सर्वदा ईश्वरको कृपा प्राप्ति भइरहोस्, तीज पर्वको विशेष शुभकामना !