गुरुले शिष्यलाई एक अक्षर नै सिकाएको किन नहोस्, त्यसको बदलामा तिर्न सकिने पृथ्वीमा उपलब्ध कुनै धन छैन, जुन दिएर गुरुको ऋणदेखि मुक्त हुन सकियोस् ।
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः ॥१॥
अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया ।
चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः ॥२॥
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥३॥

(पुरै ब्रह्माण्डमा सबै चर-अचरमा व्याप्त जो छ, त्यस्तो अवस्थाको साक्षात्कार गराउन जसले सम्भव बनाउनुहुन्छ, जसले ज्ञानरुपी उज्यालो(हतियार)ले अज्ञानरुपी अन्धकारदेखि अन्धा भएकाको आँखा खोल्दिनुहुन्छ, जो ब्रह्मा, विष्णु र महेश्वर एवं साक्षात् परब्रह्म समान हुनुहुन्छ, त्यस्तो महान पूज्य गुरुज्यू(हरू)लाई साष्टाङ्ग दण्डवत् प्रणाम !)
अन्यश्च-
- गुरुको अर्थ के हो?
गुकारस्त्वन्धकारस्तु रुकारस्तेज उच्यते ।
अन्धकार निरोधत्वात् गुरुरित्यभिधीयते ॥४॥
‘गु’कारको अर्थ अन्धकार, ‘रु’कारको अर्थ प्रकाश हुन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने कुरा विभिन्न तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
- गुरु को हुन् ?
धर्मज्ञो धर्मकर्ता च सदा धर्मपरायणः ।
तत्त्वेभ्यः सर्वशास्त्रार्थादेशको गुरुरुच्यते ॥५॥
अर्थात् धर्मलाई जान्ने, धर्म मुताबिक आचरण गर्ने, धर्मपरायण, सबै शास्त्रहरूको प्रमाणबाट तत्त्वहरूको आदेश गर्ने नै गुरु हुन् ।
- क कसलाई गुरु भनिन्छ ?
प्रेरकः सूचकश्वैव वाचको दर्शकस्तथा ।
शिक्षको बोधकश्चैव षडेते गुरवः स्मृताः ॥६॥
प्रेरणा दिने, सूचना दिने, सत्य-साँचो बताउने, बाटो देखाउने, शिक्षा-दीक्षा दिने र बोध गराउने यी ६ खाले सबै गुरुसमान छन् ।
- गुरुको महत्त्व के हो ?
किमत्र बहुनोक्तेन शास्त्रकोटि शतेन च ।
दुर्लभा चित्त विश्रान्तिः विना गुरुकृपां परम् ॥७॥
धेरै जनाले बताएर अनि करोडौ शास्त्रहरुबाट पनि नमिल्ने चित्तको परम् शान्ति गुरुको कृपाबिना पाउन दुर्लभ छ ।
एकमप्यक्षरं यस्तु गुरुः शिष्ये निवेदयेत् ।
पृथिव्यां नास्ति तद् द्रव्यं यद्दत्वा ह्यनृणी भवेत् ॥८॥
गुरुले शिष्यलाई एक अक्षर नै सिकाएको किन नहोस्, त्यसको बदलामा तिर्न सकिने पृथ्वीमा उपलब्ध कुनै धन छैन, जुन दिएर गुरुको ऋणदेखि मुक्त हुन सकियोस् ।
- आजको दिन कसरी मनाइयो ?
सामान्य रूपमा भन्दा आजकै दिन धर्तीको पहिलो ज्ञानराशि वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको सार/अर्थ बुझाउन लौकिक संस्कृत भाषामा १८ पुराण र उपपुराणको रचना गर्नुहुने नेपालमै जन्मिनुभएका अलौकिक(असाधारण) पुरुष महर्षि वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । र महर्षि वेदव्यासलाई नै सबैले आदिगुरु मानेर यहि दिन गुरुपूर्णिमा मनाउन थालियो ।
एकं नित्यं विमलमचलं सर्वधी साक्षि भूतम् ।
भावातीतं त्रिगुणरहितं सद्गुरुं तं नमामी ॥९॥
ॐ मङ्गलमस्तु !
जय श्रीमन्नारायण !!!