जय श्रीमन्नारायण !
तुलसीलाई भगवान् श्रीविष्णुको स्वरूपका रूपमा लिइन्छ । जसले घरमा तुलसी रोपेर तुलसीको नित्य सेवा गर्दछ, त्यसले विष्णुपद प्राप्त गर्दछ भनिएको छ ।
श्री हरिशयनी (देवशयनी/पद्मा) एकादशी तथा तुलसी रोपण दिवसको अवसरमा सबैमा शुभकामना ! सबैले आज घर-घरमा तुलसी रोपण गरी वातावरण स्वच्छ र पवित्र बनाऔँ, घरैमा वैकुण्ठरूपी वासस्थान स्थापना गरौँ । धेरैभन्दा धेरै जना आज एकादशीको व्रत बसौँ । जुन व्रत स्वास्थ्यका लागि रामवाण त छँदैछ, आध्यात्मिक र धार्मिक मुक्तिसोपान पनि बन्न सक्दछ ।आजदेखि भगवान् श्रीविष्णु क्षीरसागरमा शयन गर्नुहुने हुनाले आजको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको जडिबुटीकी रानी मानिने तुलसीको बीज (दल)को बिरुवा आषाढ शुक्ल एकादशीका दिन आज घरघरमा रोपिन्छ । तुलसीलाई भगवान् श्रीविष्णुको स्वरूपका रूपमा लिइन्छ । जसले घरमा तुलसी रोपेर तुलसीको नित्य सेवा गर्दछ, त्यसले विष्णुपद प्राप्त गर्दछ भनिएको छ ।
व्यावहारिक पक्षलाई हेर्ने हो भने वैज्ञानिक रूपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । वृक्षहरुमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पवित्र तुलसीलाई मानिन्छ । आयुर्वेदिक दृष्टिले विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्त्वपूर्ण मानिने तुलसीको विरुवा घरघरमा रोपेमा बिग्रँदै गएको वातावरणलाई स्वच्छ र पवित्र बनाउन सकिन्छ । आयुर्वेदिक महत्त्वका हिसाबले तुलसीको बिरुवाका निम्न प्रत्यक्ष फाइदा रहेका छन् –

तुलसी (Basil Plant)
वैज्ञानिक नाम – Ocimum sanctum Linn
आयुर्वेदिक दृष्टिले विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्त्वपूर्ण मानिने तुलसीको विरुवा घरघरमा रोपेमा बिग्रँदै गएको वातावरणलाई स्वच्छ र पवित्र बनाउन सकिन्छ ।
फाइदाहरू –
- रूघा-खोकी, ज्वरो, टाउको दुख्ने, पखाला लाग्ने आदिमा उपयोगी,
- अजीर्ण, अपच, पेट दुखेको एवं पाचन शक्तिको वृद्धिमा सहयोगी,
- स्मरण शक्ति तेज बनाउन उपयोगी,
- पुरुषत्वको वृद्धिमा सहयोगी,
- चिन्ता र तनाव हटाई मनलाई एकाग्र बनाउने,
- पछिल्लो समय क्यान्सर रोग निदानमा समेत उपयोगी बन्ने तथ्य उजागर,
- सधैँ चपाएर खानु भने हुँदैन किनकी दाँतको इनामेलमा असर गर्छ,
- महिलाले गर्भवती भएको समयमा धेरै प्रयोग नगर्ने ।
कटुतिक्ताम्लमधुरं कषायलवणान्रसान् ।
वर्जयत् स च वैरूप्यं दौर्गन्ध्यं नाप्नुयात् सदा ।। (श्रीभविष्यपुराणम्)
अर्थात् चतुर्मास भर पिरो, तीतो, गुलियो, टर्रो, नुनिलो, अमिलो यी छ रस त्याग्नाले जीवनभर नै शरीर दुर्गन्धित र विरूप हुँदैन ।
मङ्गलमस्तु !
जय श्री राधे !!जय श्रीमन्नारायण !!!